Menu Close

New Idea (नँया सोच)

nepali story

एकादेशको कुरा हो, एउटा गाँउमा बूढा र बूढी मिलेर घरमा बस्दथे र सँधै एक अर्कालाई माया गर्दथे । उनीहरुको चार छोरी मात्र थियो । अरु गाँउलेहरु ती बूढा र बूढीको एक अर्काको माया देखेर छक्कै पर्दथे ।

दिन बित्दै थियो । उनीहरुको छोरीहरु पनि ठुली हुँदै गयो । अब भने बूढा बुढीलाई आफ्नो छोरीहरुको चिन्ता हुन थाल्यो । उनीहरु निकै गरिब थिए । चारै छोरीहरु मिहिनेती थिए । छोरीहरुको काम बाट उनीहरुको घर चलिरहेको थियो । तर छोरीहरुको बिहे गर्दिनको लागि उनीहरुसँग केही सम्पति थिएन । सम्पतिको नाममा त्यही एक घर र केही बाख्राहरु थिए ।

छोरीहरु सबैको बिहेको उमेर पनि भइसकेको र त्यो एउटा घर बेचेर चारै छोरीको बिहे पनि सम्भव थिएन । बिहेको चिन्ताले बूढाबुढीको मन पोलिरहन्थ्यो । अब त बूढालाई खाना पनि खान मन लाग्न छाड्यो । बूढाको यो अबस्था देखेर सबैलाइ चिन्ता हुन्थ्यो तर सबै परिवारले सम्झाउदा पनि बूढाको मन भरिएन ।

तर एकदिन बूढालाइ नँया सोच आयो । यस्तो सोच जून गाँउमा अहिलेसम्म कसैले गरेको थिएन । बूढाले आफ्नो चार छोरीहरुको बिहे चार जनावर सँग गर्ने विचार गर्यो ।
सुरु मा परिवारको कसैले यो कुरा मानेन तर बूढाले धेरै सम्झउँदा छोरीहरु पनि माने ।
त्यसैले बूढाले जेठी छोरीको बिहे बाघसँग, माहीली छारीको भालुसँग, साँहीलीको र्सपसँग र कान्छीको चरासँग गर्दियो ।
सबै गाउँले छक्क परेपनि छोरीहरुको जिवन निकैनै राम्रो सँग कट्न थाल्यो र बूढाबूढी पनि खुसी भए ।
केही बर्ष पछि बूढालाई आफ्नो छोरीहरुको याद आयो र भेट्न भनी घरबाट निस्कियो ।

पहिले जेठी छोरीको घरमा जाने निर्णय गरेर, बाघ ज्वाँइलाई भेट्न ओडारमा पुग्यो । बाघ पनि आफ्नो ससुरोलाइ देखेर खुसी भयो ।
त्यसपछि बाघले आफ्नो बूढीलाई भन्यो –“ल तिमी पानी तताएर ठिक पार्नु, म र ससुरा मिलेर एउटा बाख्रा लिएर आँउछु ।” बाघ र ससुरा डुल्डै एउटा गाउँमा पुगे र पर एउटा बाख्राको गोठ देखे । गोठमा पुगेर बाघले भन्यो –“ल ससुरा बा, म भित्र जान्छु र फुत्त एउटा बाख्रा फाल्छु । तपाई त्यसलाई च्याप समाएर सिस्नोको झाँङमा फाल्नुहोस ।”
बुढा तयार भएर बसे र बाघ ज्वाँइले बाख्रा फाल्दा च्याप समाएर सिस्नोमा फाले । पछि ओडार फर्केर मासु बनाएर निकै रमाइलो को साथ बुढाले खाए । त्यसरी एक महिना जति बसी सकेपछि बुढालाई बल्ल आफ्नो बुढीको याद आयो र छोरी ज्वाँइ सँग बिदा मागेर घर फर्किए ।

घरमा पुगेर बुढाले सबै करा बुढीलाइ सुनाए । त्यसपछि बुढीले भने –“तपाईलाई पो ज्वाँइले खुवाउँछ, मलाई को छ र खवाउने?”
अनि बूढाले भने–“म छँदैछुनी, तँ किन आत्तिन्छे?”
त्यसपछि बूढाले पनि आफ्नो ज्वाँइ जस्तै गरी बूढीलाई लिगेर एउटा गोठमा पुग्यो ।

त्यसपछि बूढीलाई भन्यो–“तिमी बाहिरनै बस, म भित्र गएर बाख्रालाई फुत्त फ्याल्छु अनि तिमी त्यसलाई च्याप्प समातेर सिस्नोको झाँङमा फाल है ।”

अनि बूढा गोठ भित्र मात्रै के पुगेथ्यो, एउटा ठुलो बोकोले लात्तीले हान्दियो । बूढा त सिधै बुढीको हातमापो पुग्यो । बुढीले चैँ बाख्रा आयो भनेर सिस्नोको झाँङमा फाल्दियो । बुढाले आथ्था, पोल्यो भनेसीपो बुढीले चाल पायो । बल्ल बल्ल बूढा बूढी त्यहाँ बाट निस्केर घर पुगे । बूढो त एक महिना नै बिरामी भयो ।

बिरामी बाट उठेसी फेरी बूढालाइ आफ्नो छोरीको याद आयो । अब चाँहि बूढा माहिली छोरीलाइ भेट्न जान्छु भनी हिड्यो । धेरै लामो जङगलको बाटो हिडेँसी भालु ज्वाँइ लाइ भेट्यो ।
भालुले पनि आफ्नो ससुरालाइ सम्मान गर्यो र आफ्नो बुढीलाइ भन्योे–“ल तिमी कराइ तताएर राख्नु म पहिले तेल लिएर आँउछु । ” भालु र ससुरा तेल पेल्ने ठाँउमा पुग्यो । भालुलाइ देखेर त्यहाँको सबै मान्छे भागे । अनि भालुले भएभरको तेल आफ्नो चाकमा दले । अनि घर पुगेर तताइ रहेको कराहीमा थचक्क बस्यो । भालुको शरिरमा टाँसेको सबै तेल कराहीमा जम्मा भयो ।

त्यसपछि फेरी भालुले आफ्नो बूढीलाई भन्यो–“अब म पिठो लिगेर आउँछु, तिमी सेल रोटि बनाउनु । आज ससुराबा लाई खुब रोटि खुवाउनु पर्छ है ।”

भालु र बूढा मिलेर पिठो बेच्ने दोकानमा पनि पुग्यो र टन्नै पिठो लिगेर फर्कियो । त्यो दिन बूढाले टन्नै सेल खायो । एक महिना जति आनन्दले बसेपछि बल्ल बूढीको सम्झना आउन थाल्यो । भालु र छोरीलाइ बिदा मागी घर फर्कियो ।

घरमा बूढीले सबैकुरा सोध्यो र बूढाले पनि टन्नै सेल खाएको कुरा भने । त्यसपछि बूढीले भन्न थालीे–“तपाईलाई पो ज्वाँइले खुवाउँछ, मलाई कसले खुवाउँछ र ?”

बूढाले पनि भन्यो–“त किन आत्तेको म छँदैछुनी, चिन्ता नगर न ।”
अर्को दिन बूढाले भन्यो–“ए बुढी, तिमी कराही तताएर बस, म तेल र पिठो लिगेर आँउछु ।”

अनि बूढा तेल भाको ठाँउमा पुग्यो । सबैजना गइसकेसपछि अलि अलि पाएको तेल उसले भालुले गरे जसरीनै आफ्नो ज्यानमा दल्यो । घर आई र्भखरै तातेको कराहीमा के बसेको थियो, उसको चाकनै डढ्यो । बल्ल बल्ल बूढीले कराही बाट निकाली । फेरी एक महिना बूढा बिरामी भयो ।

त्यसपछि बूढा साँहीली छोरीलाई भेट्न भनी घरबाट निस्कीयो । धेरै हिँडेपछि बल्ल आफ्नो छोरी र सर्प ज्वाँइ भेट्यो । सर्पले पनि आफ्नो ससुरोलाइ भन्यो–“तपाइको अरु ज्वाँइले त के के खाना खुवायो होला । म चाँहि तपाइलाई पुरै पाताल लोक घुमाउँछु ।” त्यसपछि बूढा सर्प ज्वाँइको ज्यानमा बस्यो । सर्पले पनि एउटा दुलो बाट छिरेर पुरै पाताल घुमाइ दियो । सँधै एसरी घुम्दा घुम्दै महिनौ बितेको चालनै पाएन । पछि उनी बूढीको सम्झना आएसी आफ्नो घर फर्किए ।

घर पुगेर आफु पुरै पाताल लोक घुमेको कुरा आफ्नो बूढीलाइ बतायो । त्यसपछि फेरी बूढीले भन्न थाली तपाइलाइ पो ज्वाँइले घुमाउनु भयो, मलाइ कसले घुमाँउछ र?
अनि बूढाले भन्यो–“म घुमाइहाल्छु नी चिन्ता नगर न । ”

भोली बिहान बूढा र बूढी एउटा दुलो को अगाडि बसेर तयार भयो । बूढी आफ्नो बूढाको ज्यानमा थचक्क बसी । त्यसपछि बूढा सकिनसकि दुलो भित्र छिर्न थाल्यो । अलिकति भित्र के पुगेथ्यो, उनीहरु त्यही अड्कीयो । बूढीले बल्ल बल्ल तानेर बाहिर निकाल्यो । तर बूढाको ज्यानको पुरै छाला गयो । फेरी पनि बूढो बिरामी भएर घरमै आराम गर्नु पर्यो ।

सन्चो भएपछि अब कान्छी छोरीलाइ भेट्न भनि बूढा घरबाट निस्कियो । एउटा ठुलो रुख चढेपछि बल्ल चरा ज्वाँइ भेट्यो । चरा ज्वाँइले चाँहि म तपाइलाई पुरा विश्व आकाशबाट घुमाउछु भन्यो । बूढा पनि खुसी भयो । एक महिना जसो उनीहरु नँया नँया ठाँउ घुमे । पछि बूढो घुमेको मिठो सम्झना बोकी घर फर्किए ।

घर पुगेसी उनले आफ्नो बूढीलाइ पनि ज्वाँइले जसरीनै घुमाउने कुरो गरे । भोली बिहान बूढा र बूढी एउटा पहाडको अग्लो ठाँउमा पुगे ।

दुइवटा नाङ्गलो दुइ हातमा बाँदेर पङ्खा जस्तो बनाए । अनि बूढीलाइ आफ्नो पिठ्युमा राखी त्यहाँ बाट हामफाल्यो । त्यसपछि त्यो गाँउमा बूढा बूढी कहिले पनि देखा परेनन् । हामफाल्न त सँगै हामफालेको थियो तर मर्ने बेलामा सँगै पनि भएनन् । फरक फरक ठाँउमा उनीहरुको शरीर भेटियो ।

Sharing is Caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *