
एक समयको कुरा हो, एक किसानको खेत धेरै थियो तर खेत लाई चाहिने पानी थिएन। त्यसैले उनि आफ्नो खेतको लागि पानीको स्रोत खोज्दै गए। उनले आफ्नो छिमेकमा अर्को किसान संग दुई वोटा इनार देखे र त्येही छिमेकीबाट एक इनार किने। इनार किनिसकेपछि उनि खुसि हुँदै घर फर्के।
अर्को दिन, किसान आफ्नो खेतमा, हिजो भर्खर किनेको इनारबाट पानी लगाउन भनि त्यहाँ गए। तर त्यो इनार बेच्ने छिमेकी लोभी र बेइमानी थियो । उनले इनार बेचेको भएपनि, पानी दिन मानेनन्।
जब किसानले किन नदिने भनेर सोध्यो, ती छिमेकीले जवाफ दियो, “मैले तपाईंलाई इनारपो बेचेको हो त, पानी बेचेको होइन नि।”
किसान अब भने अन्योलमा परे। हिजो भर्खर पैसा खर्च गरेर किनेको इनारको पानी, आफुले प्रयोगनै गर्न नपाउने भएपछी उनि दुखि भए। फेरी उनलाई राजाको न्यायको सम्झना आयो र उनि राजा समक्ष गए। राजालाई सबै कुरा छर्लङ्ग पारे।
राजाले त्यो किसानलाई न्याय दिलाउन एक बुद्धिमान् मन्त्रि बीरबललाई बोलाए र सबै कुरा सुनाए। बीरबले सबै कुरा बुझेपछि त्यो इनार बेच्ने छिमेकीलाई बोलाए र प्रश्न गरे, “किन तपाई किसानलाई इनारबाट पानी लिन दिनुहुन्न? तपाईंले किसानलाई इनार बेच्नुभएको होइन र ?”
छिमेकीले उत्तर दियो, “हजुर, मैले किसानलाई इनार मात्र बेचेको हुँ तर यसमा भएको पानी बेचेको होइन। उसलाई यो इनारबाट पानी निकाल्ने अधिकार छैन।”
बीरबलले भने, “ठिक हो, पानी तिम्रै हो तर तिमीले इनार त बेचिसकेको छौ, त्यो इनार त तिम्रो रहेन। भनेपछि अर्काको इनारमा पानी राख्न तिमीलाई पनि त अधिकार छैन नि। कि त तिमीले पानि राखेको बापत किसानलाई भाँडा तिर्नुहुन्छ, वा तुरुन्तै आफ्नो पानी अन्तै लानुपर्छ।”
त्यसपछि, छिमेकीले आफ्नो योजना असफल भएको महसुस गर्यो र इनार किन्ने छिमेकीलाई माफी मागे र घर फर्किए।
कथाको पाठ : अरुलाई धोका दिएर, तपाईं लामो समय सम्म खुसि हुन सक्नुहुन्न । धोकाको फल चाँडै तपाइंले तिर्नु पर्नेछ।
Sharing is Caring